Manegaun

Manegaun is part of nuwakot distrit,manakamana VDC,Nepal.
Home » » ५० लाख किलो चामल खै?

५० लाख किलो चामल खै?

काठमाडौं-भूकम्प प्रभावितका लागि बंगलादेशले पठाएको १० हजार मेटि्रक टन (१ करोड केजी) चामलमध्ये ५ हजार मेटि्रक टन (५० लाख केजी) बीचैमा गायब भएको छ। भूकम्प प्रभावित जिल्लामा राहतस्वरुप बाँड्न ल्याइएको चामल कहाँ पुग्यो, कसैलाई पत्तो छैन। बंगलादेशी चामल सरकारको केन्द्रीय तथ्यांकमै भेटिँदैन।
विदेशबाट आएका राहत सामग्रीको केन्द्रीय तथ्यांक तयार पार्ने जिम्मेवारी पाएको गृह मन्त्रालयले त झन् बंगलादेशबाट जेठ १२ सम्म ५० हजार क्विन्टल (५० लाख केजी) चामल मात्र नेपाल भित्रिएको दाबी गरेको छ।
‘राहतस्वरुप विदेशी राष्ट्रले पठाएका सामग्री नेपाल भित्रिनेबित्तिकै रेकर्ड हामीकहाँ आउँछ। अहिलेसम्म बंगलादेशबाट ५० हजार क्विन्टल चामल नेपाल भित्रिएको तथ्यांक हामीसँग छ,' गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले नागरिकसँग भने।

नेपालमा वैशाख १२ गते गएको ७.६ म्याग्निच्युड स्केलको भूकम्पले ठूलो जनधनको क्षति गरेपछि वैशाख २१ गते बंगलादेशकी प्रधानमन्त्री सेख हसिनाको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले नेपाललाई तत्काल १० हजार मेटि्रक टन चामल दिने निर्णय गरेको थियो।
नेपालका भूकम्प प्रभावितका लागि भनी बंगलादेशले पठाएको १० हजार मेटि्रक टन चामल दुई साताअघि नै नेपाल भित्रिएको थियो। सडक मार्ग हुँदै चामल बोकेका कन्टेनर नेपाल भित्रिएका थिए। बंगलाबन्ध, फूलबारी, पानीट्यांकी हुँदै ५ सय २१ वटा ट्रकमा १० हजार मेटि्रक टन चामल काँकडभिट्टा नाकाबाट नेपाल भित्रिएको थियो।
बंगलादेशबाट १० हजार मेटि्रक टन चामल भित्रिएको होइन र? भन्ने नागरिकको जिज्ञासामा गृह प्रवक्ता ढकालले अनभिज्ञता प्रकट गर्दै भने, ‘एकपटक आपूर्ति मन्त्रालयलाई सोध्नुस् न!'

काठमाडौंस्थित बंगलादेश दूतावासका अनुसार राहतको पहिलो खेप वैशाख २३ गते नेपाल भित्रिएको थियो भने अन्तिम खेप जेठ १ गते। सबै चामल झापाका सहायक प्रमुख जिल्ला अधिकारी कमलबहादुर थापालाई हस्तान्तरण गरिएको थियो। नेपाललाई चामल हस्तान्तरण गर्न काठमाडौंस्थित बंगलादेशी दूतावासका कर्मचारी बारीकुल इस्लाम आफैं झापा पुगेका थिए।
नेपालले बुझेपछि उक्त परिमाणको चामल झापा, बिर्तामोड र चन्द्रगढीस्थित नेपाल खाद्य संस्थानको गोदाममा राखिएको थियो।
‘बंगलादेशले पठाएको १० हजार मेटि्रक टन चामल हामीले बुझेका छौं। ती चामल खाद्य संस्थानको झापास्थित बिर्तामोड र चन्द्रगढी गोदाममा राखेका छौं। गृहको सूचीमा किन थोरै चामल देखियो, त्यो खुलाउने काम गृहको हो, मलाई थाहा भएन,' वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता शम्भु घिमिरेले जानकारी दिए, ‘माग र आवश्यकता हेरेर भूकम्प प्रभावित क्षेत्रमा ती चामल पठाउने कार्य भइरहेको छ।'
खाद्य संस्थानको बिर्तामोड शाखाप्रमुख मार्कण्डेयप्रसाद जैसवालका अनुसार हालसम्म त्यहाँबाट बंगलादेशले पठाएको चामलमध्ये ३१ हजार ५ सय क्विन्टल (३१ लाख ५० हजार केजी) मात्र भूकम्प प्रभावित विभिन्न जिल्ला पठाइसकिएको छ।
बंगलादेशका लागि नेपाली राजदूत हरिकुमार श्रेष्ठले बंगलादेशले दिएको चामल ३ खेपमा नेपाल पठाइएको थियो। अन्तिम खेप चामल नेपाल भित्रिँदा आफू पनि सँगै झापा पुगेको उनले टेलिफोनबाट नागरिकलाई बताए। ‘दुई साताअघि चामलको अन्तिम खेप नेपाल भित्रँदा मसँगै त्यहाँ पुगेको थिएँ। ३ हजार मेटि्रक टन चामल भूकम्प प्रभावित जिल्लामा वितरण भइसकेको जानकारी हामीलाई दिइएको थियो,' राजदूत श्रेष्ठले भने।
आपूर्ति मन्त्रालयले बंगलादेशबाट प्राप्त १० हजार मेटि्रक टन चामलको सम्पूर्ण जानकारी गृहलाई गराएको बताएको छ तर गृहले भने त्यस्तो जानकारी आफूलाई प्राप्त नभएको जनायो। आपूर्ति मन्त्रालयले उपलब्ध गराएको तथ्यांक नै आफूहरुले सार्वजनिक गरेको गृह प्रवक्ताले बताए। बंगलादेशले पठाएको १० हजार मेटि्रक टनमध्ये आधा ५० लाख केजी चामलको विषयमा गृह अनभिज्ञ छ।
गृह मन्त्रालयका अनुसार हालसम्म ५ राष्ट्रले मात्र नेपालका भूकम्प प्रभावितका लागि राहत सामग्रीमा चामल पठाएका छन्। भूकम्प प्रभावितका लागि चामल पठाउने राष्ट्रमा बंगलादेश, भारत, पाकिस्तान, थाइल्यान्ड र बहराइन छन्।
गृहको केन्द्रीय तथ्यांकअनुसार बंगलादेशले ५० हजार क्विन्टल, भारतले ३ हजार ८७ क्विन्टल, पाकिस्तानले २ सय ३ क्विन्टल, थाइल्यान्डले २ सय ७ क्विन्टल र बहराइनले ३७ क्विन्टल गरी कुल ५३ हजार ५ सय ३४ क्विन्टल चामल नेपाल भित्रिएको छ। यसबाहेक, पाँच मेटि्रक टन गृहको तथ्यांंकले देखाएको छैन।

यसैबीच, बंगलादेशस्थित नेपाली दूतावासले त्यहाँ नेपाल पठाइएका बिभिन्न राहत सामग्री के कति कुन जिल्ला तथा स्थानमा वितरण भए त्यसको विवरण परराष्ट्र मन्त्रालय मार्फत मागेको भए पनि विवरण प्राप्त गर्न सकेको छैन। ‘बंगलादेश सरकार र त्यहाँक संघसंस्थाले उपलब्ध गराएका राहत सामग्रीको कहाँ कहाँ वितरण भए भन्ने जानकारी दूतावासले हामीसँग मागेको छ। हामीले झापा जिल्लासँग जानकारी मागेका छौं, तर पाएका छैनौं। आफूले दिएको सामान कहाँ गएछ भन्ने जानकारी उनीहरुलाई उपलब्ध गराउन सके विश्वास बढ्छ र थप राहत ल्याउन पनि सहज हुन्थ्यो,' परराष्ट्र मन्त्रालय स्रोतले भन्यो।

कुन देशबाट कति?

बंगलादेश ५० हजार क्विन्टल
भारत ३ हजार ८७ क्विन्टल
पाकिस्तान २ सय ३ क्विन्टल
थाइल्यान्ड २ सय ७ क्विन्टल
बहराइन ३७ क्विन्टल
स्रोत : गृह मन्त्रालय
-
Share this article :

0 comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Maskolis | Johny Portal | Johny Magazine | Johny News | Johny Demosite
Copyright © 2011. manegang - All Rights Reserved
Template Modify by Creating Website Inspired Wordpress Hack
Proudly powered by Blogger