–अमृत योञ्जन तामाङ
तामाङ जातिलाई ‘जात’ दिएका होइनन् । उक्त इस्तिहारका दुई ठाउँमा १) ‘हामी
बाह्र तामाङलाई आफ्नो तामाङ जात भन्ने भनिने लेख्ने लेखाइने गराई बक्से
हुँदो हो’ र २) ‘उप्रान्त बाह्र तामाङ जातलाई लामाभोटे भन्ने चलन
चलेकोमा’भन्ने उल्लेख छ । यी वाक्यांशले तामाङहरूले आफूलाई ‘तामाङ’ नै
भन्दा रहेछन् र अन्य समुदायले ‘लामाभोटे’भन्दा रहेछन् भन्ने प्रस्ट हुन्छ ।
जङ्गबीर तामाङले स्पष्ट शब्दमा हामी तामाङले ‘तामाङ’
भन्न पाउनु पर्छ, ‘तामाङ’लेख्न पाउनु पर्छ भनेका हुन् । अपमान हुने अपशब्द
प्रयोग गर्न पाइँदैन भन्न खोजेका छन् ।
‘हाम्रा नेपाल सरहद गोरखाराज भरका तामाङ जातले आफ्नो जात लेख्दा लेखाउँदा
तामाङ भनी लेख्ने लेखाउने गर्नु’भन्ने जस्ता वाक्यांशबाट पनि ‘तामाङ’ तामाङ
नै हो । यस जातिले उहिलेदेखि नै तामाङ लेख्दै आएको पनि हो । तामाङ नै
लेख्न चाहेको छ, लेख्नु र लेखाउने गर्नु भनेको प्रस्टै छ । जाहेरीवाला
जङ्गबीर तामाङको उपनाम ‘तामाङ’भएको तथ्यबाट पनि प्रस्ट हुन्छ ।
जाति नामको अर्थमा तामाङ शब्दको यथेष्ट प्रयोग १९८९ (सन् १९३२) भन्दा धेरै
अगाडिका अनगिन्ती अभिलेखमा पाइन्छन् । नेपालभित्र पनि र विदेशी लेखनमा पनि ।
प्रस्तावित तामाङ राज्यभित्रका दोलखा जिल्लामा पर्ने दोलखा भीमेश्वर
भण्डारको १८५० साल (सन् १७९३) को अभिलेखमा जोगिराम तामाङको सन्तानको उल्लेख
गर्दा तामाङ शब्द प्रयोग भएको छ । यो अभिलेख उक्त इस्तिहारभन्दा १३९ वर्ष
अगाडिको हो । १८६३ साल (सन् १८०६) मा स्वयम्भूका थर्ची लामालाई काठमाडौं
उपत्यका वरिपरिका १२ घ्याङको अधिकारसहित १८ नाल १२ तामाङको थितिसमेत कायम
गर्न पाउने अधिकार प्राप्त भएको अभिलेखमा तामाङ शब्द प्रयोग भएको छ ।
अब विदेशी लेखन पनि हेरौं । नेपालमा लामो अवधिसम्म राजदूत रहेका एच.बी.
हज्सनले सङ्कलन गरेका सन् १८४७ को हज्सन पेपर ‘मुर्मीहरूको कुलाचार’को
पहिलो पृष्ठको दाहिनेतिर तामाङ भाषामा ‘चुनि तामाङ रुइ चोपरे’ र मुनितिर
नेपाली अनुवाद ‘बाह्र तामाङ जात अठार’लेखिएको छ । यसै गरी, एच.एच. रिस्ले
(सन् १८९१) ले ‘दि ट्राइब्स एण्ड कास्ट्स अफ बेङ्गाल भोल्युम टु’ मा ‘तामाङ
भोटिया’शब्दावलीको प्रयोग गरेका छन् । इडेन भ्यान्सिटार्ट (सन् १८९६)ले
पनि ‘नोट्स अन नेपाल–१८९६’ मा ‘तामाङ’ शब्दको प्रयोग गरेका छन् । यी सबै
उन्नाइसौं शताब्दीका कुरा भए ।
बीसौं शताब्दीको प्रारम्भमा जर्ज ए. ग्रियर्सन (सन् १९०९)ले ‘लिङ्ग्वीस्टिक
सर्वे अफ इन्डिया’मा भाषावैज्ञानिक उच्चारणअनुरुप ‘तामाङ’ भन्छन् भनेर
किटेर लेखेका छन् । डब्लु ब्रुक नोर्दे र सि.जी. ब्रुस (सन् १९२८)ले पनि दि
गोरखाज’ मा जातिको अर्थमा ‘तामाङ’ शब्दको प्रयोग गरेका छन् । यी सबै
अभिलेखबाट जाति नामको अर्थमा तामाङ शब्दको प्रयोग इस्तिहार जारी भएको १९८९
साल अर्थात् सन् १९३२ सालभन्दा धेरै अगाडिदेखि नै प्रयोग हुँदै आएको रहेछ
भन्ने प्रमाणित हुन्छ । यी तामाङ नाम शब्दको आधिकारिक प्रयोग भएका अभिलेख
हुन् ।
भीम शमशेरको इस्तिहारलाई अगाडि सार्दै तामाङ नामको प्रयोग श्री ३ भीम
शमशेरको पालादेखि शुरु भएको हो भनेर भ्रम पाल्नु वा फैलाउनु उचित देखिन्न ।
यसबाट उसको विज्ञतामाथि नै प्रश्न उठ्न सक्दछ । यहाँ एउटा पुरानो ऐतिहासिक
अभिलेख प्रस्तुत गर्न चाहन्छु । जाति नामको अर्थमा तामाङ शब्दको प्रयोग १३
औं शताब्दीको एउटा अभिलेखमा पनि भएको पाइन्छ । सो अभिलेखमा लेखिएको छ–
‘छेवाङ् नोर्बू (सन् १६८८–१७५५) ले ङारी गुङथाङ राजवंशको वंशावली तयार
गर्ने क्रममा सो वंशका राजा बुम्–दे गोन् (राज्यकाल १२५३–१२८०)ले निर्माण
गरेका किल्लाको अभिलेख सङ्कलन गर्दा माथिका अभिलेख प्राप्त गरेका थिए’भनी
म्याक्डोनाल्ड (सन् १९७६ः १७०) ले डेभिड पी. ज्याक्सन (सन्
१९७६ः ५३) लाई उद्घृत गर्दै लेखेका छन् ।
यस अभिलेखअनुसार तल्लो लो राज्य (मुस्ताङ)का तामाङ जातिलाई दबाउन गुङथाङ
(तिब्बत)का राजा बुम्–दे गोन् (बुम् ल्दे म्गोन)ले मुक्तिनाथमा स्रिन
किल्लाको निर्माण गरे ।
यी हुन् तामाङ शब्द प्रयोग भएका इतिहासका पानाहरू । गहन अध्ययन–अनुसन्धान
गरियो भने अझ धेरै र लामो फेहरिस्त प्राप्त गर्न सकिएला । इतिहासका गुरु
तथा विद्यार्थीहरुको ध्यान यसतर्फ जान आवश्यक देख्छु ।
श्रोत साभार : नाम्सादिम


0 comments:
Post a Comment