Manegaun

Manegaun is part of nuwakot distrit,manakamana VDC,Nepal.
Home » » भत्किएका घर बनाइदिने परोपकारी मनहरू

भत्किएका घर बनाइदिने परोपकारी मनहरू

विनाशकारी भूकम्पका कारण करिब ४ लाख घर पूर्ण रूपमा ध्वस्त भए। त्यति नै संख्यामा घरहरू क्षतिग्रस्त पनि भएका छन्। यस्तो महाविपत्तिका बेला पीडितहरूका निम्ति कतिपय मानिस परोपकारी बनेर निस्किएका छन्। विभिन्न माध्यममार्फत सहयोग जुटाउँदै पीडितहरूका लागि घर निर्माण गरिदिन कतिपय परोपकारी व्यक्तिले काम सुरु गरेका छन्। सबै पीडित नेपालीलाई एउटै वर्गमा समाहित गराई प्रभावित क्षेत्रमा पुगेर घर बनाइदिन केही परोपकारी व्यक्तिले सहयोगको घोषणा गरिसकेका छन् भने केहीले काम नै थालिसकेका छन्। त्यस्ता केही प्रतिनिधि पात्रहरू :





गगन थापा, युवा नेता

भूकम्पले हजारौं घर ध्वस्त भएपछि नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सभासद गगन थापाले एउटा नौलो अभियान सुरु गरे। त्रिपालको अभाव खेपिरहेका भूकम्पपीडितहरूका निम्ति उनले केही अस्थायी घर बनाउने काम नुवाकोटको कुमरीबाट प्रारम्भ गरेका छन्। ‘हामीले यो सानो अभियान सुरु गरेका हौं,’ थापाले भने– ‘अन्य साथीहरूले पनि यस्तै सहयोग गर्न सके पीडितहरूलाई केही राहत मिल्नेछ।’ विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा इन्जिनियरिङका विद्यार्थीहरूसहित नुवाकोट पुगेको सय जनाको टोलीले कुमरीमा ४८ वटा अस्थायी घर बनाइसकेको छ। थापाको टिमले धादिङ र काठमाडौंको बुढानीलकण्ठमा पनि घर निर्माण गरिरहेको छ।



विनोद चौधरी,

चौधरी फाउन्डेसन


चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले भूकम्पबाट घरबास गुमाएकाका निम्ति २५ करोड रकम विनियोजन गरेर उदार भाव प्रकट गरेका छन्। घर गुमाएका पीडितहरूका निम्ति चौधरीकै अगुवाइमा प्रभावित क्षेत्रमा १ हजार ‘ट्रान्जिसनल होम’ निर्माण गर्ने तयारी भैरहेको छ। त्यसबाहेक अन्य ९ हजार घरका निम्ति विभिन्न संघ–संस्थासँग सहकार्य गर्ने घोषणा चौधरी फाउन्डेसनले गरिसकेको छ। फाउन्डेसनले ६ महिनाभित्र ती सबै १० हजार घर निर्माण गरिसक्ने बताएको छ।



करिश्मा मानन्धर, अभिनेत्री

अभिनेत्री करिश्मा मानन्धरलगायत अन्य कलाकारहरूको समूह पनि यतिबेला भूकम्पपीडितहरूका निम्ति घर निर्माणमा जुटेको छ। उक्त समूहले काठमाडौं नजिकैको धर्मस्थलीको ७५ वटै घर ध्वस्त भएको चौगाउँमा स्थायी घर निर्माण अभियान थालेको छ। भारतको परमशक्ति पीठ नामक संस्थाको सहयोगमा नेपाल सेवा समिति स्थापना गरेर स्थायी घर बनाउन थालिएको हो। यो अभियानअन्तर्गत स्थानीयहरूको श्रमदान तथा ५० हजार रुपैयाँ नगद अनुदानमा १० वर्षसम्म टिक्ने घरहरूको निर्माण गरिने छ।



शेष लाओस राई, विद्यार्थी नेता

नेविसंघका केन्द्रीय सदस्य लाओस राईले आफ्नै अगुवाइमा नुवाकोटका २३ गाविसमा घर निर्माण अभियान सुरु गरेका छन्। टिम नेपाल कन्सल्टेन्सी एन्ड रिसर्च सेन्टर नामक कम्पनी, ३० जना इन्जिनियरिङका विद्यार्थीलगायत स्थानीयवासीको सहभागितामा ती घरहरू निर्माण थालिएको हो। राईले पहिलो चरणमा दोलखाका अति प्रभावित गाउँहरूमा घर निर्माण अभियानका लागि अध्ययन सुरु भएको बताएका छन्। राईले पहिलो चरणमा १ सय घर बनाइदिने घोषणा गरेका छन्।



प्रदीप पौडेल, कांग्रेस नेता

कांग्रेस नेता प्रदीप पौडेलले पनि गोरखाको विकट गाउँ पालुङटारमा ५० वटा घर निर्माण गराएका छन्। अस्थायी किसिमले बनाइएका ती घर निर्माणका लागि पौडेल काठमाडौबाट प्राविधिकसहित १ सय जना युवाहरूको समूहसहित प्रभावित क्षेत्रमा पुगेका थिए। ‘हाम्रो सानो अभियान मात्र हो, यस्तो अभियानले अरूलाई उत्साहित गराओस् र सहयोगी भावनाको विकास गर्न सहयोग पुगोस् भन्ने मात्र हो’, पौडेलले बताए। पौडेलका अनुसार धादिङ, सिन्धुपाल्चोक र दोलखालगायतका जिल्लाका १० वटा गाउँहरूमा समेत ५०/५० वटा गरी ५ सय घर बनाउने योजना रहेको छ। यो अभियानअन्तर्गत घरबास गुमाएका परिवारका निम्ति जस्तापाता, बाँस र घरेलु सामग्रीको सहायतामा अस्थायी घर निर्माण गरिने छ।



शेष घले,

अध्यक्ष, गैरआवासीय नेपाली संघ


 गैरआवासीय नेपालीहरूको संगठनका अध्यक्ष शेष घलेको अगुवाइमा अतिप्रभावित क्षेत्रमा १ हजारवटा घर निर्माण गरिने योजना बनाइएको छ। आठवटा जिल्लामा बनाउन लागिएको त्यस्ता घरका लागि ३५ करोड रुपैयाँ बजेट छुट्टयाएको छ। त्यसका लागि गैरआवासीय नेपालीहरूको संगठनले अध्यक्ष शेष घलेको नेतृत्वमा विज्ञ, इन्जिनियर र स्वयंसेवीहरू परिचालन गरेर आवश्यक अध्ययन सुरु गरिसकेको छ।



सुजाता कोइराला,

जीपी कोइराला फाउन्डेसन


भूकम्प लगत्तै कांग्रेस नेतृ सुजाता कोइरालाले देशभरका ११ जिल्लाका ११ वटा गाउँ विकास समितिलाई पुनर्निर्माण गर्ने घोषणा गरेर नौलो अभियानको थालनी गरिन्। जीपी कोइराला फाउन्डेसनको अगुवाइमा उनले भूकम्पबाट प्रभावित ११ वटा गाविसका मानिसहरूलाई राहतस्वरूप घर निर्माणसहित अन्य सार्वजनिक भौतिक संरचनाहरूको समेत निर्माण गर्ने घोषणा गरेकी छिन्।



महेश बस्नेत, एमाले नेता

उद्योगमन्त्री तथा एमालेका युवा नेता महेश बस्नेतले ३ लाख रुपैयाँ लगानी गरेर भक्तपुरमा अस्थायी घर निर्माणको अभियान थालेका छन्। यो अभियानअन्तर्गत भक्तपुरको अनन्तलिङ्गेश्वर नगरपालिकाअन्तर्गतका भूकम्पपीडित गाउँहरूमा ६५ वटा घर निर्माण भैसकेका सकेका छन्। अभियान अन्तर्गत बस्नेतले भक्तपुरमा १ हजारवटा घर निर्माण गर्ने योजना अघि सारेका छन्।



ज्याक मा, चिनियाँ अर्बपति

उद्योगपति विनोद चौधरीको अनुरोधमा विश्वचर्चित ई–कमर्स साइट अलिबाबाका संस्थापक एवं चिनियाँ अर्बपति ज्याक माले नेपालका भूकम्पपीडितहरूका लागि घर निर्माण गरिदिने भएका छन्। ज्याक माले १ हजार घर निर्माण गर्न आवश्यक रकम उपलब्ध गराउनुका साथै १० जना प्राविधिक तथा संस्थाका प्रतिनिधिहरू चीनबाट पठाइदिने बताएका छन्।



निर्मल श्रेष्ठ/सुरज गुरुङ

हङकङ, चीन र मकाउमा बसोबास गरिरहेका नेपालीहरूबाट संकलन गरिएको आर्थिक सहयोगले हङकङमा व्यवसाय गर्दै आएका सुरज गुरुङ र पत्रकारिता गरिरहेका निर्मल श्रेष्ठको अगुवाइमा घर, विद्यालय र बालउद्यान निर्माणको अभियान अन्तिम चरणमा पुगेको छ । सिन्धुपाल्चोकको कर्थली–७ पोखरेमा घर, विद्यालय र बालउद्यान निर्माणको अभियानलाई श्रेष्ठ र युवा व्यवसायी गुरुङले नेतृत्व गरिरहेका छन् । पोखरेका ४० दलित परिवारका लागि अस्थायी घर र बालबालिकाका लागि बालउद्यानको निर्माण भैरहेको छ ।
Share this article :

0 comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Maskolis | Johny Portal | Johny Magazine | Johny News | Johny Demosite
Copyright © 2011. manegang - All Rights Reserved
Template Modify by Creating Website Inspired Wordpress Hack
Proudly powered by Blogger